विराटनगर–नेपालको औद्योगिक तथा व्यावसायिक विकाससँग जोडिएको ऐतिहासिक संस्था मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमितिको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष साह यसअघि संघको बरिष्ठ उपाध्यक्षमा रहेर काम गरिसकेका छन् । यसपटक उनीसहितको कार्यसमिति निर्विरोध चयन भएको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा चयन भएका छन् । वाणिज्यतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी, उद्योगतर्फको उपाध्यक्षमा संजयकुमार श्रेष्ठ र महासचिवमा अमितकुमार सारडा चयन भएका छन् ।

त्यस्तै सचिवमा अमित राठी र दीपेश सुवेदी, कोषाध्यक्षमा विनीत संघानिया तथा सहकोषाध्यक्षमा मनिष मारु चयन भएका छन् । संघको प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाएका छन् ।

कार्यसमिति सदस्यमा राजेशकुमार अग्रवाल, विवेक अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिस गोल्छा, वेदान्त जाजु, डा. वन्दना जैन, लोकेश टिवडेवाल, धिरज मोहत र ओमप्रकाश शर्मा चयन भएका छन् ।

आमन्त्रित सदस्यमा डा. दीपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाल चयन भएका छन् । संघअन्तर्गतको महिला उद्यम समितिको संयोजकमा साधना झा र सहसंयोजकमा जीना श्रेष्ठ चयन भएका छन् ।

दुई वर्षका लागि निर्वाचित नयाँ नेतृत्वसामु संघको ऐतिहासिक विरासत जोगाउँदै बदलिँदो औद्योगिक र व्यावसायिक वातावरणमा निजी क्षेत्रका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने चुनौती छ । नेपालकै पुरानो उद्योग वाणिज्य संस्थाका रूपमा स्थापित संघले आगामी दिनमा औद्योगिक विकास, लगानी विस्तार र व्यवसायमैत्री नीति निर्माणमा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

List - 35th ECM of Morang CCI

विराटनगरको औद्योगिक विकाससँगै स्थापना भएको संघले आफ्नो ७५ वर्षभन्दा लामो यात्रामा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । संघलाई नेपालकै जेठो उद्योग वाणिज्य संस्थाका रूपमा लिइन्छ । संघको आफ्नै अभिलेखमा सन् १९५१ अर्थात् विसं २००७ मा स्थापना भएको उल्लेख छ । नेपाल उद्योग वाणिज्य महासंघले पनि संघलाई संस्थापक सदस्यका रूपमा सूचीकृत गरेको छ।

विराटनगरमा उद्योगधन्दा र व्यापारिक गतिविधि विस्तार हुँदै गएको समयसँगै गठन भएको यो संस्था नेपालको औद्योगिक विकासको इतिहाससँग पनि जोडिएको छ। विराटनगरमा उद्योग स्थापना, व्यापार विस्तार, श्रम सम्बन्ध, बजार व्यवस्थापन तथा औद्योगिक पूर्वाधारका विषयमा निजी क्षेत्रको आवाज उठाउने काममा संघले लामो समयदेखि भूमिका खेल्दै आएको छ।

संघको इतिहास उद्योगी–व्यवसायीको हकहितमा सीमित छैन। विराटनगरको औद्योगिक र सामाजिक आन्दोलनका विभिन्न चरणमा समेत संघले आफ्नो उपस्थिति देखाएको इतिहास छ। ऐतिहासिक मजदुर हड्तालदेखि मुलुकमा प्रजातन्त्र र नागरिक अधिकारका पक्षमा भएका विभिन्न आन्दोलनमा संघले पटक–पटक आफूलाई जनताको पक्षमा उभ्याउँदै आएको संघका पुराना अभिलेख र इतिहाससँग जोडिएका व्यक्तिहरू बताउँछन्। त्यसैले संघको इतिहासलाई विराटनगरको उद्योग–व्यापारको इतिहाससँग मात्रै नभई नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनसँग समेत जोडेर हेर्ने गरिएको छ।

संघले हालै आफ्नो स्थापनाको ७५औँ वर्ष पूरा गरेको अवसरमा हिरक महोत्सवसमेत मनाएको थियो। २००७ सालमा स्थापना भएको संस्थाले तीन पुस्ताका उद्योगी–व्यवसायीको नेतृत्व र सहभागितामार्फत ७५ वर्षको यात्रा पूरा गरेको हो।

नयाँ नेतृत्व चयनसँगै संघले अब उद्योग र व्यापार क्षेत्रका समसामयिक चुनौतीलाई कसरी सम्बोधन गर्छ भन्ने चासोसमेत बढेको छ। पछिल्लो समय औद्योगिक उत्पादन लागत, विद्युत्, कर तथा भन्सार नीति, सीमा व्यापार, बजार व्यवस्थापन र लगानीको वातावरणलगायत विषय निजी क्षेत्रका प्रमुख चासोका रूपमा रहँदै आएका छन्।