काठमाडौं- ७ देखि १० वर्षसम्म रङ नबिग्रने दाबी गर्दै बेचिएको बर्जर पेन्ट केही महिनामा नै खुइलिएको भन्दै अदालत गएका उपभोक्ताले १२ लाख ७८ हजार रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। 

भक्तपुरमा डिलरबाट दयाराम कार्कीले २०८१ बैशाख १९ गते, दीपक राज गिरीले २०७६ भदौ ६ गते र सिद्धान्त श्रेष्ठले २०७८ चैत १५ गतेमा बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) को रङ १० वर्षसम्म वारेण्टी छ भनी खरिद गरेको तर रङ घरमा लागाएको ६ देखि ८ महिनामा नै खुइलिएको भन्दै उपभोक्ता अदालत गएका थिए। 

कार्कीले १ लाख ४५ हजार ८ सय ९४ रुपैयाँ, गिरीले १ लाख १९ हजार ९ सय ४१ रुपैयाँ र श्रेष्ठले ३ लाख ४५ हजार ८ सय ४१ रुपैयाँको पेन्ट खरिद गरेका थिए। उत्पादक कम्पनीले बर्जरको रंग 'वेदर कोट अल गार्ड' हो, घरको बाहिरी भागमा ७ देखि १० वर्षसम्म राम्ररी चल्छ भनी विज्ञापन गरेको तर सोअनुसार हुन नसक्दा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको दायित्व व्यहोर्नुपर्ने माग गरिएको थियो। 

खरिद गरेको बिलसमेतका आधारमा गिरीले ३ लाख ४६ हजार १ सय रुपैयाँ, श्रेष्ठले ६ लाख ३४ हजार ८ सय रुपैयाँ र कार्कीले २ लाख ९७ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति पाउने उपभोक्ता अदालत, काठमाडौंका सदस्य गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले फैसला गरेको छ। 

बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिका प्रतिनिधिहरूले घरमा खुइलिएको पेन्ट परीक्षण गरी केही महिनाभित्र मर्मत गरी रङ लगाउने वाचा गरे पनि उक्त वाचा पूरा नगरेको उल्लेख गरिएको छ। उत्पादन गरेको रङको बट्टा र बाल्टिनमा लेखिएबमोजिमको वारेण्टी पनि नदिएको र वारेण्टीअनुसारको क्षतिपूर्ति मागदाबी गर्न जाँदा कुनै पनि किसिमको वारेण्टी छैन भन्ने जवाफ प्राप्‍त भएको उनीहरूले जनाएका छन्। 

बर्जरका प्रतिनिधि गएर छानबिन गरी रङमा कुनै डिफेक्ट नभएको भनी उपभोक्तालाई जानकारी गराएका थिए। तर उपभोक्ताहरूले उक्त रङ कम गुणस्तरको भएको हुँदा खुइलिएकाले क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए। 

उपभोक्ता अदालतले रङ खुइलिएको स्पष्ट देखिने प्रमाण (रंगिन तस्बिर र भिडियो) तथा सोको विद्युतीय प्रति, उपभोग गरेको रङका बाल्टिन तथा बट्टाहरू, बिक्रेताले उत्पादक कम्पनीसँग उल्लेखित ब्याचको रङ खरिद गर्दा तयार भएको बिलबिजक, वारेण्टी उल्लेख गरी तयार गरिएका विज्ञापनका तस्बिर तथा भिडियोहरूसमेत जाँच गरेको थियो। 

बर्जर वेदरकोट अलगार्ड नामक रंगको बट्टामा 'एक्स्टेरियर वाल पेन्ट, सिलिकन इन्हान्स्ड', 'वेदरकोट: लङ लाइफ एक्स्टेरियर इमल्सन विथ पीयू' भनी लेखिएको देखिएकोर रंगहरूलाई घरको बाहिरी भागमा उपयोग गर्न मिल्नेगरी उत्पादन गरिएको देखिएको साथै कुनै बट्टामा 'वारेण्टी ७  वर्ष' भनी लोगो राखिएको तथा कुनैमा 'वारेण्टी १० वर्ष' भनी लेखिएको समेत देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ।

कम्पनीद्वारा गरिएका अनलाइन बिज्ञापनहरूमासमेत 'वेदर कोट अल गार्ड'को लागि ७ वर्ष वारेण्टी भनी सामाजिक सञ्जालहरूमा प्रचार गरेको फैसलामा उल्लेख गरिएको छ। 

त्यस्तै 'वेदरकोट लङलाइफ: एक्स्टेरियर इमल्सन विथ पीयू' भन्ने ब्राण्डमा 'रिपेल्स हेभी रेन, ग्यारेन्टी अफ १० इयर्स' भनी आमसञ्चार माध्यम मार्फत प्रचार गरेको देखिँदा कम्पनीले ७ देखि १० वर्षको वारेण्टी दिने विज्ञापन गरेको प्रमाणित भएको अदालतको ठहर छ। 

यस्तै उपभोक्ता सिद्धान्त श्रेष्ठका लागि जारी गरिएको 'वारेण्टी सर्टिफिकेट' मा 'वारेण्टी इज गिभेन अन अ मिनिमम पर्चेज अफ ४० लिटर्स अफ वेदर कोट अल गार्ड' भनी राखिएको सर्त पनि कानूनबमोजिम सही नभएको उल्लेख गरिएको छ। 'रंगको विज्ञापन गर्दा र बिक्रीका लागि बजारमा पठाउँदा प्रत्येक बट्टामा वारेण्टी भएको भनी प्रचार गर्ने तर वारेण्टी सर्टिफिकेट जारी गर्न न्यूनतम ४० लिटर लिनुपर्ने भनी सर्त तोक्ने कार्य तर्कसंगत मान्न सकिएन' फैसलामा भनिएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७ (१) (च) तथा दफा ११ बमोजिम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले १२ लाख १४ हजार ५ सय रुपैयाँ र बिक्रेता डिलर फ्रेण्ड्स फरइभर ट्रेडिङ प्रालिले ६३ हजार ९ सय रुपैयाँगरी १२ लाख ७८ हजार ४ सय रुपैयाँ क्षतिपूर्तिबापत दिनुपर्ने फैसला भएको हो।