विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष तथा वरिष्ठ उद्योगी राजेन्द्र राउतले रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

विराटनगरस्थित शिवम ग्रुपका अध्यक्षसमेत रहेका राउतले व्यक्तिगत रूपमा प्रधानमन्त्री बालेन्द्र शाहको राहत कोषमार्फत उक्त रकम सहयोग गरेका हुन्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका तथा प्रभावित नागरिकको खोज, उद्धार र राहतका लागि सहयोग रकम उपलब्ध गराइएको जनाइएको छ।

रसुवामा आएको भीषण बाढीबाट जनधनको ठूलो क्षति भएको छ। नदी आसपासका बस्तीमा बसोबास गर्ने परिवार प्रभावित हुनुका साथै केही नागरिक बेपत्ता र धेरै परिवार विस्थापित भएका छन्। बाढीले सडक, भौतिक पूर्वाधार तथा विभिन्न संरचनामा समेत क्षति पुर्‍याएको छ भने प्रभावित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ।

महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राउतले विपद्को यस कठिन समयमा राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रको साझा सहयोग आवश्यक रहेको बताएका छन्। उनले कोशी प्रदेशका उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थालाई पनि आफ्नो क्षमता अनुसार रसुवा बाढी पीडितको सहयोगमा जुट्न आग्रह गरेका छन्।

विपद्बाट प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनामा राज्यसँगै निजी क्षेत्र र सामाजिक संघसंस्थाको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले पीडित नागरिकलाई सहयोग गर्न सबैलाई आह्वान गरेका छन्।