विराटनगर– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उद्योग संगठन मोरङले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संगठनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने उद्देश्यले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
भदौ १० गते आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संगठनले मृतकप्रति श्रद्धाञ्जली र शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। संगठनका अध्यक्ष नन्दकिशोर राठीले विपद्का कारण पीडित बनेका नागरिकप्रति उद्योग संगठन मोरङको साथ र ऐक्यबद्धता रहेको बताएका छन्।
उनले घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बाढी प्रभावित परिवारको सुरक्षित र सहज जीवनका लागि कामना गर्दै विपद्को समयमा सबै क्षेत्र एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
राठीले निजी क्षेत्र व्यवसाय र आर्थिक गतिविधिमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको बताए। राष्ट्र संकटमा पर्दा निजी क्षेत्रले समेत आफ्नो क्षमता अनुसार सहयोग गर्नु आवश्यक ठानेर संगठनले आर्थिक सहायता उपलब्ध गराएको उनको भनाइ छ।
संगठनले आफ्ना सदस्य उद्योगी तथा व्यवसायिक प्रतिष्ठानलाई समेत बाढी प्रभावित नागरिकको राहतका लागि आ–आफ्नो क्षमता अनुसार सरकारको राहत तथा उद्धार कोषमा योगदान गर्न आग्रह गरेको छ।
उद्धार र राहत अभियानमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, विभिन्न सामाजिक संघसंस्था, स्वयंसेवक तथा सहयोगीप्रति पनि संगठनले सम्मान र आभार व्यक्त गरेको छ।
विपद्बाट प्रभावित नागरिकको जीवनलाई पुनः सामान्य बनाउन सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संगठनले सम्पूर्ण नेपालीलाई पीडितको सहयोगमा एकजुट हुन आग्रह गरेको छ।
टिप्पणीहरू
आफ्नो विचार राख्नुहोस्
अहिलेसम्म कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्!