विराटनगर । भारतमा खरबुजाको बिउ आयातमा प्रतिबन्ध लागेपछि नेपालमा यसको आयात अस्वाभाविक रूपमा बढेको तथ्यांक सार्वजनिक भइरहेका बेला झापाको भद्रपुरमा एकैपटक करीब ३८ टन खरबुजाको बिउ बरामद भएको छ । सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा बिउ भण्डारण गरिएको अवस्थामा प्रहरीले बरामद गरेपछि नेपाललाई माध्यम बनाएर भारततर्फ तस्करी गर्ने प्रयास भएको हुन सक्ने आशंका बलियो बनेको छ ।

भद्रपुर नगरपालिका–३, ज्ञानेचोकस्थित भीमलाल सुवेदीको घरमा रहेका दुई गोदामबाट प्रहरीले असार २८ गते ९४८ बोरा अर्थात् ३७ हजार ९२० किलो चिनियाँ खरबुजाको बिउ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको ५५ सदस्यीय टोलीले जिल्ला प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काको नेतृत्वमा गोदाममा छापा मारेको थियो ।

प्रहरीले उक्त बिउ भन्सार छली गरेर नेपाल भित्र्याइएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको दाबी गर्दै आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाएको थियो । प्रहरीले बरामद बिउको मूल्य ८९ लाख ७७ हजार ४० रुपैयाँ कायम गरेको छ ।

तर बिउ खरीद गर्ने भद्रपुरस्थित माँ दुर्गा अर्डर सप्लायर्सले भने आफूले कानूनी प्रक्रियाबाटै सामान खरीद गरेको दाबी गरेको छ । व्यवसायीका अनुसार खरीदको भ्याट बिललगायतका कागजात उनीहरूसँग छन् । प्रहरीले सामान बरामद गर्दा आफूलाई आवश्यक कागजात पेश गर्ने अवसर नदिएको व्यवसायी पक्षको भनाइ छ ।

व्यवसायीका अनुसार काठमाडौँस्थित कुबेर एक्जिमको वीरगन्ज शाखाले वैशाख १३ गते माँ दुर्गा अर्डर सप्लायर्सका नाममा ४५० बोरा अर्थात् १८ हजार किलो बिउको ३२ लाख ५४ हजार ४०० रुपैयाँको भ्याट बिल जारी गरेको थियो । त्यस्तै पशुपति एक्जिमले जेठ १३ गते ५२५ बोरा अर्थात् २१ हजार किलो बिउका लागि ३७ लाख ९६ हजार ८०० रुपैयाँको बिल काटेको दाबी गरिएको छ ।

बरामद बिउको स्वामित्व र आयात प्रक्रिया नै अहिले विवादको विषय बनेको छ । माँ दुर्गा अर्डर सप्लायर्सले झापा प्रहरी र भद्रपुर भन्सार कार्यालयलाई विपक्षी बनाएर साउन १ गते उच्च अदालत विराटनगरको इलाम इजलासमा रिट दायर गरेको छ । मुद्दा प्रक्रियामै रहेको छ ।

प्रहरीले भने ठूलो परिमाणमा बिउ सीमावर्ती क्षेत्रमा भण्डारण गरिनु र त्यसको नेपालमा हुने सम्भावित खपतबीच मेल नखाएको भन्दै भारततर्फ तस्करीको कोणबाट समेत अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीको प्रारम्भिक विश्लेषणअनुसार काठमाडौँका कुबेर एक्जिम र पशुपति एक्जिमबाट वीरगन्ज हुँदै भद्रपुरको स्थानीय फर्मका नाममा बिउ ल्याइएको देखिएको छ । सीमाक्षेत्रमा ठूलो परिमाणमा सामान भण्डारण गरी अनुकूल समयमा भारततर्फ लैजाने योजना हुन सक्ने प्रहरीको आशंका छ ।

यसैबीच नेपालमा खरबुजाको बिउ आयात पछिल्ला वर्षमा अस्वाभाविक रूपमा बढेको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै खरबुजाको बिउको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै पाँच गुणा पुगेको छ । आयात भएको कुल परिमाणमध्ये करीब ९३ प्रतिशत बिउ सुडानबाट आएको देखिन्छ ।

आर्थिक वर्ष २०८२/८३ मा पनि खरबुजाको बिउको आयात अघिल्लो वर्षको तुलनामा १६ गुणाभन्दा बढी बढेको थियो । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात ४ दशमलव ६ गुणाले बढेको विभागको तथ्यांक छ ।

आयातको स्रोत मुलुकमा समेत ठूलो परिवर्तन देखिएको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा नाइजेरिया र अफगानिस्तानबाट मुख्य रूपमा बिउ आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा सुडान एक्लैले करीब ९३ प्रतिशत हिस्सा ओगटेको छ ।

नेपालमा भने खरबुजाको खेतीको क्षेत्रफल र बिउको सम्भावित खपतको तुलनामा आयात भएको परिमाण निकै ठूलो देखिएको कृषि क्षेत्रका अधिकारीहरू बताउँछन् ।

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म नेपालमा करीब २ हजार ५०० हेक्टरमा खरबुजा खेती हुने गरेको छ । केन्द्रका एक उच्च अधिकारीका अनुसार प्रतिहेक्टर ३० देखि ४० टनसम्म खरबुजा उत्पादन हुने गरेको छ ।

केन्द्रकी वरिष्ठ बागवानी विकास अधिकृत रिती सिंहका अनुसार नवलपरासी, रुपन्देही, चितवनलगायत तराईका केही जिल्लामा खरबुजा खेती हुने गरेको छ । नेपालमा खरबुजाको खेतीको क्षेत्रफल ठूलो नभएकाले आयात भइरहेको बिउको सम्पूर्ण परिमाण स्वदेशमै खपत हुने सम्भावना कम रहेको उनको भनाइ छ ।

‘धेरै बिउ आइरहेको हामीले पनि देखिरहेका छौं,’ उनले भनिन्, ‘आइरहेको बिउ नेपालमा सबै खपत भएको छैन, त्यो बाहिर पठाइन्छ भन्ने सूचना हामीलाई समेत आएको छ ।’

भन्सार विभागको तथ्यांकमा ठूलो परिमाणमा खरबुजाको बिउ आयात भएको देखिए पनि त्यसको पुनः निर्यात भने देखिँदैन । यसले आयातित बिउको वास्तविक गन्तव्य र प्रयोगबारे थप अनुसन्धान आवश्यक देखिएको छ ।

भन्सार विभागका महानिर्देशक यमलाल भुसालले पनि खरबुजाको बिउलगायत केही वस्तुको आयात अस्वाभाविक रूपमा बढेको विषयमा विभाग जानकार रहेको बताए । ‘हाम्रो तथ्यांकले खरबुजाका बिउसहित कतिपय वस्तुहरू अस्वाभाविक रूपमा आएको देखाइरहेको छ, यसमा हामीले विश्लेषण गर्दै छौं,’ उनले भने ।

उनका अनुसार विभागले आयातको स्रोत, परिमाण, प्रयोग र व्यापारिक प्रवृत्तिबारे अध्ययन गरिरहेको छ । अध्ययनपछि अस्वाभाविक आयातको कारण र त्यसमा आवश्यक नीतिगत कदमबारे निष्कर्षमा पुगिने उनले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीका अनुसार पनि नेपालमा खरबुजाको बिउको वार्षिक वास्तविक खपत कति हो भन्ने यकिन गर्नुपर्ने अवस्था छ । आयातको परिमाण स्वदेशी मागभन्दा अस्वाभाविक रूपमा बढी देखिएमा त्यसमा परिमाणात्मक बन्देजलगायतका उपायबारे छलफल हुन सक्ने उनले बताए ।

भारतमा प्रतिबन्धपछि नेपालमा बढ्यो आयात

नेपालमा खरबुजाको बिउको आयात बढिरहँदा भारतले भने आफ्ना कृषकलाई संरक्षण गर्ने उद्देश्यले सन् २०२४ को जुनदेखि खरबुजाको बिउ आयातमा प्रतिबन्ध लगाएको छ । भारतमा आयातमा प्रतिबन्ध रहेकै समयमा नेपालमा यसको आयात अस्वाभाविक रूपमा बढ्नुले यसको वास्तविक गन्तव्यबारे प्रश्न उठाएको हो ।

गत अप्रिलमा मात्रै भारतको राजस्व अनुसन्धान विभागले मुम्बईस्थित न्हाभा सेवा बन्दरगाहमा २ हजार ७१० टन खरबुजाको बिउ जफत गरेको विवरण सार्वजनिक भएको थियो ।

भारतमा प्रतिबन्धित वस्तु नेपाल हुँदै अनौपचारिक रूपमा भारततर्फ पठाउने सम्भावनाका कारण सीमावर्ती क्षेत्रमा भएको ठूलो परिमाणको बिउ बरामदगीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भद्रपुरमा बरामद भएको ३७ हजार ९२० किलो बिउको वास्तविक आयात प्रक्रिया, स्वामित्व, प्रयोग र सम्भावित गन्तव्यबारे अनुसन्धान तथा अदालतको प्रक्रियाबाटै टुंगो लाग्नेछ ।

यसअघि प्रहरीले बरामद गरेको बिउ दाबी गर्न भद्रपुर भन्सार कार्यालयले सूचना जारी गरेको थियो । तर तोकिएको समयमा दाबी गर्न कोही नआएको भन्सार अधिकृत प्रभुनारायण मेहताले बताए । पछि आयातकर्ताले अदालतमा मुद्दा दायर गरेपछि अदालतले बिउ सुरक्षित राख्न आदेश दिएको र अहिले भन्सार ऐनअनुसार प्रक्रिया अघि बढाउन भनेको उनले जानकारी दिए ।

नेपालमा खपत हुनेभन्दा धेरै परिमाणमा बिउ आयात हुनु, त्यसको स्रोत मुलुकमा पछिल्लो समय ठूलो परिवर्तन आउनु र भारतमा सोही वस्तुको आयात प्रतिबन्धित हुनुबीचको सम्बन्धबारे सरकारी निकायले तथ्यगत अध्ययन गर्नुपर्ने देखिएको छ । भद्रपुरको ३८ टन बरामदगीले भने यो विषयलाई सामान्य आयातको दायराभन्दा बाहिर ल्याएर नेपाल–भारत सीमापार व्यापार र तस्करीको सम्भावित सञ्जालबारे समेत अनुसन्धान गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।